सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर

चितवन, २० असार । रत्ननगर नगरपालिका र सपना भिलेन सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित सुकुमवासीहरुलाई नयाँ घर बनाईदिएका छन ।

गत बर्ष आएको बाढीले घर भत्काएपछि विचल्लीमा परेको रत्ननगर ८ बगरटोलका सुकबहादुर भूजेल र आइतराम दराई तथा भुकम्प पिडित चित्रसारीकी कौशिला गिरीलाई घर निर्माण गरिएको हो ।

घर निर्माणको लागि इम्प्याक्टले ९० प्रतिशत र नगरपालिकाले १० प्रतिशत लगानी गरेका छन ।

७ लाख ६० हजार रुपैयाको लगानीमा तीन वटा घर निर्माण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रब गिरीले जानकारी दिए ।

त्यसैगरी इम्प्याक्टले रत्ननगर ७ मालपुरका बाढी पीडित मुसहर समुदायलाई घर निर्माण सुरु गरेको छ । मुसहर बस्तीमा इम्प्याक्टले चार वटा घर बनाउन सुरु गरेको हो । वडा कार्यालयका १० प्रतिशत,नगरपालिकाको १० प्रतिशत र ८० प्रतिशत इम्प्याक्टको लगानीमा घर निर्माण सुरु गरिएको अध्यक्ष गिरीले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले दयनीय आर्थिक अबस्था भएका नगरवासीहरुलाई घर विहीन हुन नदिन समाजिक संस्थाको सहयोग लिएर घर बनाईएको बताए ।

उनले बाढीले घर बगाएर विचल्लीमा परेका परिवारलाई नयाँ घर बनाईदिने काम रत्ननगरमा तीब्र रुपमा भइरहेको बताए ।

रत्ननगर क्षेत्रमा रोटरी क्लव, लोक गायक मिलन लामा र सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित तथा सुकुमवासीहरुलाई घर निर्माण गरिरहेको छन ।