भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना सम्पन्न


जनकपुर । जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् ।
उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् ।
मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी भने पहिलो प्रधानमन्त्री हुन् ।

षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन रहेको छ ।