सुन काण्डका यी अभियुक्तसँग वामदेव र अर्थमन्त्री खतिवडाको के साइनो ?

काठमाडौं ,२७ बैशाख । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा।युवराज खतिवडा तथा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि गोप्य वार्ता गरेका थिए । तर, लोहनी जोगिन भने सकेनन् र अन्ततः मोरङ प्रहरीको हिरासतमा पुगे ।

तीन हप्ता अगाडि भैँसेपाटीस्थित एमालेका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलसँग भएको उक्त रहस्यपूर्ण भेटवार्तालाई एमालेकै नेताहरूले ३३ किलो सुनकाण्डसँग जोडेर हेर्न थालिएको छ । हेडक्वार्टरमा तानिएका बेला लोहनीले पौडेलसँग वार्ता गरेका थिए ।

लोहनीसँग वार्ता गर्नु अगाडि पौडेलले आफ्नै निवासमा अर्थमन्त्री डा। खतिवडासँग परामर्श गरेका थिए । त्यति मात्रै होइन पूर्व अर्थमन्त्री पौडेलले एसएसपी लोहनीलाई पूर्वगृहमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि भेट गराएका थिए । ‘वामदेव गौतम, विष्णु पौडेल, अर्थमन्त्री डा।युवराज खतिवडा र लोहनीबीचको वार्तामा के कुरा भयो जानकारी छैन’, स्रोतले भन्यो ।

तर ३३ किलो सुनकाण्डमा फसेका लोहनीसँगको गोप्य वार्तामा सुन प्रकरणकै विषयमा लोहनीलाई जोगाउने कुरा भएको स्रोतको दावी छ । एमालेका उपमहासचिव पौडेललाई भेटेको दोस्रो हप्ता लोहनीले गृह मन्त्रालयद्वारा गठित छानविन समितिमा पुगेर बयान दिएका थिए । बयान दिएपछि उनी एक सातासम्म ढुक्क भएर बसेका थिए ।

तर, डिएसपी प्रजित केसीको बयानले उनलाई पोल्यो र पुनः छानविनसमितिले मोरङ प्रहरीको हिसातमा राखेर अदालतमा बयान लिएको थियो । एसएसपी लोहनी आफूलाई बचाउन माग गरेर पौडेल र गौतमको शरणमा पुगेका थिए ।

एसएसपी लोहनीले भेटेपछि तनावमा देखिएका एमाले नेता पौडेल बुद्ध सम्मेलनका अवसरमा आफ्नै गृहजिल्ला रुपन्देहीमा भएको कार्यक्रममा भाग लिन गएका थिएनन् । रुपन्देहीबाट निर्वाचित सांसद समेत रहेका पौडेल लुम्बिनी सम्मेलनमा सहभागी नहुनुलाई रहस्यका साथ हेरिएको छ ।

३३ किलो सुन काण्डका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ फरार छन् । त्यति मात्रै होइन त्यही सुनका कारण सनम शाक्यसहित तीनजनाले ज्यान गुमाउनु परेको छ ।

यति ठूलो काण्ड हुँदा पनि ३३ किलो सुनको भने अत्तोपत्तो छैन । त्यस बेला सत्तामा रहेका अर्थमन्त्री, गृहमन्त्री र सीमित नेताहरूले नै ३३ किलो सुन गायब बनाएको भनेर एमाले मुख्यालय धुमबाराहीमा चर्चा हुन थालेको छ।

सुन काण्डको दोस्रो चरणको अनुसन्धानमा पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल, बामदेव गौतमका छोरा हरिश, पूर्व एआईजीद्धय विजयलाल कायस्थ, विज्ञानराज शर्मा र उनका भाई दयाराज शर्मा, पूर्व एसएसपी रविराज श्रेष्ठसहित ठूला माछाहरु तानिने भएका छन्, यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।