कुलतमा फस्दै विदेशिएका युवा

 

काठमाडौं – राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए । आजको कान्तिपुरले चौंथो पृष्ठमा यो समाचार छापेको छ ।

अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु भनें,’ बूढानीलकण्ठस्थित एक पुनस्स्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक स्थलबाहेक अन्य ठाउँमा मादकपदार्थ खान स्वतन्त्र थिएँ, भेटेजति ड्रग पनि सेवन गर्न थालें ।’

एकदिन घरैमा पार्टी चलिरहेको थियो, उनी चुरोट किन्न बाहिर निस्के । त्यसपछि के भयो, उनलाई याद छैन । अचानक आँखा खुल्दा अस्पतालमा थिए । अत्यधिक ड्रग सेवन गरेर हिँडदा ओभरब्रिजबाट व्यस्त सडकमा खसेर गम्भीर घाइते भएका उनलाई चिकित्सकले बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको भनिदिए । उनको टाउको र करङको हड्डी भाँचिएको थियो । सन् २०१२ मा त्यहाँको सरकारले बाँच्ने सम्भावना नरहेको भन्दै नेपाल फर्काइदिएको उनले बताए ।

यस्ता थुप्रै युवा कुलतको मारमा छन् । विशेषगरी पश्चिमा मुलुकमा बसाइँ सरेर जाने युवा कुलतमा फस्ने गरेको नार्कोनन नेपालका संस्थापक वसन्तराज कुँवर बताउँछन् । ‘पुनस्स्थापना केन्द्रमा आएकाको अनुभव हेर्दा नेपालमा झन्डै ८० प्रतिशतजतिले कक्षा ८ पढदादेखि नै रक्सी वा लागूपदार्थ चाख्ने गरेका छन्, यसले पछि लत नै बस्छ ।’

बूढानीलकण्ठको रिह्याब सेन्टरमा धेरैजसो भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र हङकङ पुगेका नेपाली छन् । कुलतमा फसेपछि कमाउन गएका वा पढ्ने युवालाई झनै प्रभाव पर्छ । आर्थिक समस्या आइपर्छ, कुलतको उपचार महँगो हुन्छ ।