यातायात व्यवसायीको बन्दको प्रभाव देशैभर, यात्रुको बिजोग

सरकार मुकर्दशक मात्र

२१ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यून मात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।
काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका देखिन्थे ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा,
५ को बटवल ६ को सुर्खेत र ७ को धनगढीमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् ।
देशका अन्य ठुला शहरहरु चितवनको नारायणगढ, भरतपुर, ईटहरी, विरगंज ,भैरहवा, दागं महेन्द्रनगर लगाएतका स्थानबाट पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ । पश्चिमदेखि पूर्वसम्मका शहरहरुमा यातायात व्यवसायीहरुको बन्दको प्रभाव परेको छ ।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन ।
सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।