के गर्दैछन् गुप्तचर निकायका प्रमुख ?

काठमाडौं, २० वैशाख । देशको एकमात्र गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान ९राअ० विभाग लथालिंग जस्तै अवस्थामा पुगेको छ ।

मुलुकमा पाँच वर्षको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार बनेपनि गुप्तचर निकायका प्रमुख दिलिप रेग्मी भने विना योजना पदमा बसिरहेका छन् ।

नयाँ सरकार गठन भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा र सरुवालगायत नीति निर्माणका कार्यहरु अगाडि बढेका छन् ।

तर राअमा भने रेग्मीले कुनै पनि कार्य योजना ल्याउन सकेका छैनन् । जवकी नेपाल प्रहरी र सशस्त्र प्रहरी संघीय संरचनामा जाने गरी दिनहुँ जसो नीति निर्माणमा जुटिरहेको अवस्था छ ।

गुप्तचर गर्ने निकाय नै पंगु बन्न थालेपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर आफ्नो कार्यालय मातहत लैजान लागेका हुन् । यस बारेमा गृह मन्त्रालयले समेत कुनै चासो नराख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । राअ विभागमा ठूलो संख्यामा पदहरु रिक्त रहेपनि रेग्मीको असक्षमताकै कारण पदपूर्ति हुन सकिरहेको छैन । हाल विभागका २ डिआईजी, १० एसएसपी, १३ एसपी तथा २० प्रमुख डिएसपी देखि तल्लो तहमा पनि धेरै रिक्त छन् ।

देशको आन्तरिक सुरक्षा र विदेशी चलखेलको सूचना संकलनका लागि गठन गरिएको गुप्तचरी निकाय राअ नै पंगु बनेपछि सूचना संकलन हुनु त परै जाओस् भएका सूचना पनि विदेशी दूतावासमा विक्री हुने गरेको समाचार यस अघि नआएका पनि होइनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको अवैध सुन तस्करी, लागूऔषध कारोबार गर्ने विदेशी गिरोह, वेला वखत विदेशी आतंकवादी संगठनका सदस्य नेपालमा पक्राउ पर्दा समेत राअले अहिलेसम्म कुनै सुईको पाउन सकेको छैन ।

त्यस्तै विप्लव माओवादीले फैलाईरहेको आतंकको सञ्जालको बारेमा पनि राअ बेखवर छ । जवकी भारतको गुप्तचरी निकाय ‘रअ’ देश विदेशमा निकै सक्रिय रहँदै आएको छ ।

भारतमा ‘रअ’ ले दिएको सूचनालाइ सरकारले तुरुन्तै कार्यान्वयन गर्दछ । तर, नेपालमा भने राअबी सूचना विहिन हुँदै गएपछि विघटनको अवस्थामा पुगेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।