माओवादी हेडक्वार्टर बैठक, बराबरी हुनैंपर्ने तर एकीकरणबाट ‘ब्याक’ नहुने निस्कर्ष

काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकीकरणमा विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित अर्थात हेडक्वाटर बैठकले एमाले–माओवादीबीच पार्टी एकीकरण हुने र त्यसका लागि अन्तिम चरणका सम्वाद भइरहेको उल्लेख गरेको हो ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग हालसम्म भएको वार्ता र सम्वाद प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले समान हैसियतमा एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।