चितवनमा प्रथम राष्ट्रिय आर्थिक गणना सुरु


चितवन,बैशाख ४( प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ चितवनमा पनि सुरु भएको छ । आगामी जेठ ३१ गतेसम्म सञ्चालन गरिने गणनाका लागि जिल्लाभर ८४ जना गणक र १२ जना गणक सुपरिवेक्षकहरु परिचालन गरिएको छ । गणनाका लागि भरतपुर महानगरपालिकामा ८४,रत्ननगर नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ७, राप्ती नगरपालिकामा ५,कालिका नगरपालिकामा ४,माडी नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ४ जना गणक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका सबै स्थानिय तहमा ७ जना गणक बराबर १ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।

चितवन जिल्ला भित्र रहेका साना–ठूला व्यापारिक र औद्योगिक प्रतिष्ठानहरूको गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय चितवनका तथ्याङक अधिकृत जिवनाथ आचार्यले जानकारी दिए । दुई महिनासम्म कार्यालयले खटाएका गणकहरूले जिल्लाभर नै विवरण संकलन गर्ने उनले बताए ।

गणकले जिल्लाका विभिन्न पसल र उद्योगको लगानी, रोजगारी, महिला सञ्चालक वा कर्मचारीको संख्या आदि संकलन गर्नेछन । गणक तथा सुपरिवेक्षकलाई तालिम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको अधिकृत आचार्यले जानकारी दिए । विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग उनले आग्रह गरे ।

केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलब्ध गराउनु आर्थिक गणनाको उदेश्य रहेको छ । आर्थिक गणनाले मुलुकको नीति निर्माण गर्न सरकारलाई सहज हुने विश्वास लिइएको छ । आर्थिक गणनामा प्राथमिक कृषि उत्पादन, माछापालन आदिलाई भने समेटिएको छैन । नेपालमा छुट्टै कृषि गणना गर्ने गरिएको छ  । आर्थिक गणनको नतिजा दसैंअगाडि सार्वजनिक गर्ने तयारी तथ्याङक विभागको छ ।

क्जबचभ तजष्कस्