ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा पतन  :  देउवा


हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दलको आयोजनामा आज सोमबारदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले भने ओली सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको छ ।

उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो।’
देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए ।