वैशाख अगावै पार्टी एकता : प्रधानमन्त्री ओली

बुधबार, ३० फागुन २०७४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् ।
सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम नै चाँडै पार्टी एकता हुन लागेको बताएका हुन् ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसकाअवसरमा दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उनले भने (“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।”

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधँै तत्पर रहेको प्रष्ट पारेका थिए ।
सो अवसरमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभारा बमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गरेका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।