सशस्त्र प्रहरीद्वारा गाँजा बरामद


रत्ननगर, चितवन, १७ फागुन ।
सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो ।
गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले सुराकीको आधारमा राती ३ः३० बजे सो गाँजा बरामद गरेको गणका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । सो बरामद गाँजा बिहिबार बिहान गणका प्रहरी नायव उपरीक्षक राजु पाण्डे, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक रामेश्वर त्वाती, राप्ती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जल्लु चौधरी, पत्रकार लगायतका उपस्थितिमा नष्ट गरिएको थियो ।
सशस्त्र प्रहरी गण भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरपूर्वको पहाडी क्षेत्रमा रहेको सो गाउँमा प्रहरीले पटक पटक गाँजा नष्ट गर्दै आएको छ भने विगतमा पनि गाँजा बरामद समेत हुने गरेको थियो ।