पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जना दोषी ठहर

७ वर्ष जेल सजाय

 

काठमाडौं,फागुन १० –

नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । २० जनाले भने सफाइ पाएका छन् ।

विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना पनि तोकेको छ । तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् ।

दासलार्इ ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवाना तोकिएको छ । विशेष अदालतले खनाललार्इ भने १ लाख ५४ बिगो ठहर गरेको छ ।

यो प्रकरणमा मुछिएका अवकास प्राप्त पयर्टन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पौडेलसहित २० जनाले सफाइ पाएका छन् । एक महिनाभन्दा लामो समयदेखिको बहसपछि विशेषले यो फैसला सुनाएको हो ।

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निरौला तीन करोड धरौटी बुझाएर छुटेका थिए ।

बोर्डमा रहँदा १ अर्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन २ बहालवाला सचिवसहित बोर्ड र त्यससँग सम्बन्धित २३ जना कर्मचारीले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

आरोपत्रपमा निरौलाले मात्र ३३ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेकोले सोही बराबर विगो र जरिवाना असुल उपर हुनु पर्ने दावी गरेको थियो । अख्तियारले २३ जनाबाट १ अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैयाँ बराबरको बिगो रकम माग दाबी गरेको थियो ।