अस्पताल विकास समिति कर्मचारी यूनियनको अधिवेशन चितवनमा सुरु


चितवन, माघ १९–
अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन आज (शुक्रबार)देखि भरतपु्रको क्यन्सर अस्पतालको सभाहलमा सुरु भएको छ । महाधिवेशनको आज प्रदेश सभा सदस्यद्धय धनश्याम दाहाल र विजय सुवेदीले समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश साँसद विजय सुवेदीले सरकारले नै आवश्यक कर्मचारी र प्रविधिको व्यवस्था गरे अस्पताल विकास समितिको आवश्यकता नपर्ने बताउनुभयो । अहिले अस्पताल विकास समितिका कर्मचारीलाई समायोजन गर्नुपर्ने अवस्था आएको भन्दै सरकारले सही व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई नयाँ ढँगबाट व्यवस्थापन गर्नुपर्ने बताउदै श्रमको आधारमा कर्मचारीको मूल्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रुद्रप्रसाद मरासिनीले सबै जिल्ला र तहका अस्पताल विकास समितिमा ऐन, विद्यान, नियम एउटै बनाउनुपर्नेमा जोड दिनुभयो । यसो भएमा अस्पतालका कर्मचारीदेखि सबै क्षेत्रको समस्या समाधान गर्न सहज हुने भन्दै अस्पताल विकास समितिका कर्मचारीहरुको पनि सरुवा र बढुवा हुने वातावरण बनाउनुपर्ने बताउनुभयो । यसो भएमा अन्य कर्मचारी सरह उत्तिकै ईज्जत र मर्यादा समेत हुने बताउनभुयो ।

कार्यक्रममा प्रदेश साँसद घनश्याम दाहाल, राष्टिय स्वास्थ्य कर्मी संघका केन्द्रीय अध्यक्ष रामहरी ढकाल, अधिकारीक ट्रेड युनियन अध्यक्ष पूर्णप्रसाद ढकाल, नेपाल राष्ट्रिय स्वस्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष चित्रजङ राई, नेपाल अनुसन्धान चिकित्सक संघका उपाध्यक्ष डाक्टर भोजराज अधिकारी, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका लिलाराज थापा, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संघका बामदेव अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
देशभरमा ६५ वटा अस्पताल विकास समिति रहेकोमा हालसम्म ३५ वटा विकास समितिका कर्मचारी युनियनमा समेटिएको युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालले जानकारी दिनुभयो । सबै अस्पताल विकास समितिका कर्मचारीलाई समेट्ने गरी यो महाधिवेशन सम्पन्न गर्न लागिएको उहाँले बताउनुभयो ।
अधिवेशनमा अस्पताल विकास समिति अन्तरगत रहेका ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको सही समायोजन हुनुपर्ने प्रमुख एजेण्डाको रुपमा रहेको छ । अधिवेशनले नयाँ विधान अनुसार प्रादेशिक स्वरुपको १७ सदस्यी नयाँ कार्यसमिति चयन गर्दै सकिने छ । महाधिवेशनको समुद्घाटन सत्र यूनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
a