अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा

 

चितवन, माघ १७–

अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा हुने भएको छ । यूनियनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यही माघ १९, २९ र २१ गते तीन दिन महाधिवेशन भरतपुरमा हुने जानकारी दिएको हो ।

यूनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरिम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.तारा पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले तीन दिन सम्म चल्ने महाधिवेशनले केही सैद्धान्तिक विषय र आफूहरुको मागको विषयमा विशेष निती पास गर्नुको साथै नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिनुभयो ।
यूनियनका कार्यवाहक अध्यक्ष बरालले विकास समितिमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा बेवास्ता गरिएन आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । सरकारले विकास समितिलाई स्थानीय निकायमा जान निर्देशन दिई सकेको अवस्थामा आफूहरुको उपयुक्त समायोजन हुनुपर्ने कार्यवाहक अध्यक्ष बरालले माग गर्नुभयो । उहाँले लामो समयसम्म दरवन्दी अनुसारको पदपुर्ती नभएको भन्दै तत्काल पदपुर्ती गर्न माग समेत गर्नुभयो ।

महाधिवेशनमा देशभरबाट करिव ४० वटा विकास समितिका करिव ४ सय प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । यूनियनमा हाल देशभरका ३५ वटा विकास समितिका कर्मचारीहरु आवद्ध छन् । देशभरमा कुल ६५ वटा अस्पताल विकास समिति रहेका छन् । अन्य विकास समितिका कर्मचारीहरुलाई पनि यूनियनमा आवद्ध गराउने प्रयास भईरहेको कार्यवाहक अध्यक्ष बरालले जानकारी दिनुभयो ।

यसैबीच महाधिवेशनले १७ सदस्यीय नयाँ केन्द्रीय समिति समेत चयन गर्ने छ । यस पटक नयाँ विधान अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सातै प्रदेशको रहने गरि ७ जना उपाध्यक्ष, एक महासचिव र एक जना कोषाध्यक्ष रहनेछ भने बाँकी सदस्यहरु रहने यूनियनले जनाएको छ ।