बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

 

चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी आज जिल्ला अदालत चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार खड्कालाई नेपाल राष्ट्र बैंकको जायरीले बैंकिङ कसुरको मुद्दामा २०७१ असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्का लाई पाटन अदालतबाट जिल्ला अदालत चितवनमा कागजपत्र पठाई जिल्ला कारागार पठाइएको ढकालले जानकारी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनलको फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत खड्कालाई पक्राउ गरिएको ढकालले बताए । यसैबीच , अदालत फैसला कार्यान्वयन इकाइ चितवनले चालु आवको छ महिनामा ९२ जनालाई नियन्त्रणमा लिई अदालतको फैसला कार्यान्वयन गराएको छ । अदालतका तहसिलदार धनीप्रसाद चपाईंका अनुसार पक्राउ पर्नेमा सात जना कैद भुक्तान गर्नु पर्ने व्याक्ति रहेका छन् । अन्य जरिवाना असुल गर्नुपर्ने रहेको उहाँले जानकारी दिदै पक्राउ परेका बाट २८ लाख ९८ हजार ५३९ रुपैयाँ ७० पैसा जरिवाना असुल गरिएको छ भने २१२ वर्ष सात महिना २० दिन कैद भुक्तान गराइएको छ । जिल्लामा चार हजार १६५ जनालाई फैसला कार्यान्वयन का लागि नियन्त्रणमा लिन बाँकी रहेको चपाईंले जानकारी दिएका हुन् । जरीवाना लागेका दुई हजार ७९०, कैद तोकिएका ४५७ र कैद तथा जरिवाना दुवै लागेका ९१८ रहेका छन् । उनीहरुबाट दुई हजार ३५ वर्ष आठ महिना कैद भुक्तान गराउनुपर्ने छ भने १३ करोड २१ लाख ५७१ रुपैयाँ ६० पैसा असुली गर्न बाँकी रहेको छ । अदालतले फैसला गरेका मुद्दाहरुको कार्यान्वयनका लागि बनाइएको यस इकाइले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका व्यक्तिलाई पक्राउ गरी अदालतमा बुझाउने काम गर्दछ । इकाइमा अदालतका एक कर्मचारी र तीन प्रहरी रहेका छन् ।