मिनी म्याराथुनको उपाधि सुनारलाई

 

चितवन, ६ माघ

चितवनको भरतपुरमा आयोजना गरिएको मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनको उपाधि प्रेमबस्ती माविकी रिनु सुनारले प्राप्त गर्नुभएको छ । भरतपुरको केशरबाग ब्वाइज क्लबको आयोजनामा भएको प्रथम मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनमा सुनारले १४ मिनेट २६ सेकेण्डमा तीन किलो मिटर दुरी पार गर्दै उपाधि जित्नुभएको हो । ट्रफीसँगै सुनारले १५ हजार रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गनुभएको छ । सोही दूरी  १५ मिनेट ०६ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो हुनुभएकी जनाकी माविकी सञ्जु कुमालले ट्रफीका साथै १० हजार रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनुभएकोक छ । त्यस्तै, १५ मिनेट १९ सेकेण्डमा दुरी पार गरेकी साजापुर माविकी सुस्मिता भट्टराई तेस्रो हुँदै ट्रफीको साथमा पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनुभएको छ । प्रतियोगितामा सान्त्वना भएका सारदानगर माविकी विमला राना र प्रेमबस्ती माविकी समीक्षा पोखरेलले दुई हजार पाँच सय रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गनुभएको छ । दौडमा ४७ जना युवतीहरु सहभागी भएका थिए । केशरबाग ब्वाइज क्लबले पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने अध्यक्ष आदित्य न्यौपानेले बताउनुभयो ।