डेढ महिनापछि टिकौलीमा रत्ननगर महोत्सव हुने

५० करोड भन्दा बढिको कारोबार हुने आयोजकको अपेक्षा

चितवन, मंसिर ११–
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुदैं आईरहेकोे रत्ननगर महोत्सवकोे नवौं सँस्करण डेढ महिनापछि अर्थात आगामीे पुस २७ गतेदेखि यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौली मै हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११ दिन संचालन हुने जानकारी दिए । उनले महोत्सवको तयारी  तिब्र गतिमा अगाडी बढाईसकिएको भन्दै यस पटकको महोत्सव कृषि तथा पर्यटनको प्रवद्र्धनमा केन्द्रित हुने बताए । रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सव सम्पन्न गर्नका लागि विभिन्न ३३ वटा कार्यगत समितिहरु गठन गरिएको छ । यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौलीमै यसपटक महोत्सव हुन लागेको हो । रत्ननगर महोत्सव २०७४ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, सँस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तुसहितको ४५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ५ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने र ५० करोड भन्दा बढिको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवमा स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनाको मूल नारासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कृषिका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले यो महोत्सव रत्ननगरकै गौरव भएको बताउदै भने, विगतका महोत्सवको मूल्यांकन, उपलब्धिहरुको समीक्षा र प्रभावकारी मापन गर्न आवश्यक रहेको साथै रत्ननगरलाई खुसी शहर बनाउन चाहेको जानकारी दिए ।
महोत्सवमा माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसर भित्रै विभिन्न परिकार समेटिएको फुड फेष्टिबल हुनेछ । त्यसैगरि यसवर्षको महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराईचुली, उपरदाङगढी, बीसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचार प्रसारको व्यवस्था पनि मिलाईएको छ । त्यस्तै महोत्सव अन्तरगत पौष २ गते देखि माघ ६ सम्म रत्ननगर नगरपालिका बजार क्षेत्रमा विशेष बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरका मासुका परिकारहरुको स्टल रहने छ ।
महोत्सव अवलोकनको लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिइने आयोजकको भनाइ छ । रत्ननगर महोत्सवको सहआयोजक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्य प्रायोजक अभियान मोटर्स प्रा.लि., प्रायोजक लाली तयारी चाउचाउ र सहप्रायोजक होटल सेभेन स्टार, सौराहा रहेका छन् ।         भण्डाफोर अभियान साप्ताहिक बाट