विकासको आधार राजनीतिक स्थिरता ः प्रचण्ड

 चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरता विना विकास निर्माणले गति लिन नसक्ने बताएका छन् । सत्तरी वर्षयता नेपालमा कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताउँदै उनले विकासको बाधक अस्थीरता रहेको बताएका छन् ।
भरतपुर महानगरपालिका २८, जितपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समापन समारोहलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीे दाहालले यस्तो बताएका हुन् ।
कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेन । २०६३ सालयता दस वर्षमा दस वटै सरकार फेरिए । संविधान घोषणापछि तीन वर्षमा चार वटा सरकार बने । अब बन्ने सरकार पाँच वर्ष टिक्नुपर्छ उनले भने ।
देशको आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक हुने बताउँदै पूर्वप्रधानमन्त्रीे दाहालले वामपन्थी एकता र गठबन्धनको सुरुवात त्यसैका निम्ति भएको धारणा व्यक्त गरे । देशमा धेरै पार्टी हुँदा राजनीतिक स्थिरता हुँदैन, उनले भने, पाँच वर्षसम्म एउटै सरकार टिकाउन सके आर्थिक विकासको आधार निर्माण गर्न सकिन्छ ।
देशको आर्थिक विकास र समाजवादको जग निर्माणको लागि नयाँ राजनीतिक पहल सुरु गरिएको उनले  बताए । चुनावमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन हुनुलाई राम्रो भन्दै अध्यक्ष प्रचण्डले विचार मिल्नेहरुबीच एकता जरुरी भएको बताए । प्रतिनिधि सभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर तीनबाट आफ्नो उम्मेदवारी रहने बताउँदै प्रचण्डले भने, यसअघि रोल्पा, काठमाडौँ र सिरहाबाट निर्वाचन लडेँ । यसपटक गृहजिल्ला चितवनबाट निर्वाचन लड्दैछु । यहाँका जनताले मलाई भोट दिएर जिताएरै पठाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मेघौलीमा विमानस्थलको स्तरोन्नति, गोलाघाटमा पुल, पर्यटन विकासको पूर्वाधार विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मेघौलीलाई नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने धारणा सुनाए । यसअघि दाहालले भरतपुर विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा संविधानले नेपालमा थोरै पार्टी हुनुपर्ने परिकल्पना गरेकाले त्यसै अनुरुप देशमा चुनावी गठबन्धन अगाडी बढेको बताएका थिए । प्रचण्डले चितवनका जनताको विश्वास जितेर देशको नेतृत्व लिने समेत बताएका थिए ।  यसैविच, प्रचण्ड  दोस्रो चरणको उम्मेदवारी दर्ताका लागि आज  १५ गते फेरी चितवन आउने भएका छन् ।
सो क्रममा उनले जनयुद्धकालमा भएको माडीको बाँदरमुडे घटनाका पीडितहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र चितवनका एक नेताले बताए । भण्डाफोर अभियानबाट