मधेसमा उम्मेदवारी दर्ता आज


२१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ ।
सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा यसअघि नै बैशाख ३१ र असार १४ गते दुई चरणमा निर्वाचन सम्पन्न भइकेको छ ।

आज बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।
अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुबै विश्वस्त देखिन्छन् ।