अवैध नेटवर्किङ सञ्चालन गर्नेहरु पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो ।
ब्युरोले मगंलबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरेको बताएको छ, पक्राउ पर्नेमा २९ महिला छन् ।

जसमध्य १४ जना क्युनेट नेटवर्किङ कार्यमा सक्रिय रहेकाले उनीहरुमाथि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ । तिनमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अङ्किता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धर छन्।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी उनीहरुले डेढ वर्षदेखि नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
नेटवर्किङको सदस्य बनेमा विश्वका एक हजारभन्दा बढी ठाउँबाट सस्तो मूल्यमा सामग्री पाइने तथा विभिन्न देशको भ्रमण गर्न पाइने आकर्षक योजना देखाएर ठगी गर्दै आइरहेको ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये अधिकाशं चिकित्सक, इन्जिनियर र व्यवसायी छन् ।