म्यादी प्रहरीमा माग भन्दा दोब्बर बढीको दरखास्त

काठमाण्डौ/प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा दोब्बर बढी २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद हिजो सकिएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका हुन्। सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

असोज ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।