मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

चितवन/चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराईलाई पक्राउ गरेको छ ।

उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।

पीडित युवती भरतपुर महानगरपालिका वडा नं. २ की हुन् । उनी परिवारसँग बस्दै आएकी थिइन् । उनको स्थायी घर भने बेनी नगरपालिका वडा नं. १० म्याग्दी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले मानव बेचबिखनमा संलग्न भट्टराईले पीडितलाई भारत हुँदै कुवेत लगेर बिक्री गर्ने मनशाय राखेको बताए । उनले भने, ‘अनुसन्धानको क्रममा भट्टराईले महिनाको ५० हजार तलब हुन्छ । भारतको बाटो हुँदै कुवेत जाने हो । यस विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई गरि लैजादै गरेको पाईएको छ ।’

भट्टराईलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।