चितवन गोल्डकप आजदेखि सुरु

चितवन/भरतपुर फुटबल क्लबको आयोजनामा आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदैछ ।

संयोजक धुर्व भुसालका अनुसार असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ । चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए ।

यस्तै मैदान सम्याउनेलगायतका अन्य सम्पूर्ण तयारी पनि पुरा भएको उनले बताए । हाम्रो तयारी पुरा भएको छ । मैदान तयार छ । ६ लाख बढी खर्चमा चार हजार क्षमताको प्याराफिट निर्माण गरेका छौं,भुसालले भने । गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र भारतको मोतिहारी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ)मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि क्वाटरफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।