मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी सुचारु

चितवन/मुग्लिन-नारायणगढ सडक खण्ड दुइतर्फी सुचारु भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएर २ बजेदेखि बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड पहिरो पन्छाई ८ बजेबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो ।

बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो‚ ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।

काठमाण्डौलाई जोड्ने मुख्य मार्ग भएकाले यो सडक खण्डमा दैनिक हजारौँ गाडी चल्छन् । तर, पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।