राप्तीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन/चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय रमिता तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २८ वर्षीय सुशिल कुँवरको हात र खुट्टामा चोट लागेको छ । मृतक रमिता कुँवरको श्रीमती रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी टोली खटी गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएका छन् ।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र चोकमा प्रदर्शन गर्दा सडक अवरुद्ध भएको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेका छन् ।