प्रचण्डको पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा

काठमाण्डौ/आज (शनिवार) नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताउनु भयो ।

उहाँले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताउनु भयो । अध्यक्ष दाहालले पालिका तहको चुनावको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको चुनावमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो । उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिनुभयो ।

यस्तै, अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा।बाबुराम भट्टराई माओवादी नभएको दाबी समेत गर्नुभयो ।