आठ वर्षीया बालिका माथि बलात्कार, छ महिनापछि जाहेरी

विराटनगर/मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि भएको बलात्कारको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । पुरीलाई सोमबार पक्राउ गरिएको उनले बताए । मिलापत्र गराएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७–८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए ।

मिलापत्रका लागि भेला भएका अगुवाले क्षतिपूर्ति बापत केही रकम बालिकाको परिवारलाई दिएको स्रोतको भनाइ छ ।