नवलपरासीमा पानी नपरेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्‍याए

नवलपरासी/खडेरी परेपछि आजित भएका नवलपरासीको सरावल गाउँपालिकाका स्थानीयले अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । जिल्लामा १५ दिनदेखि पानी नपर्दा धान बाली सुक्न थालेलेपछि पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन् ।

खडेरीका कारण धान खेत चिरा ९धाँजा० परेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका स्थानीयले इन्द्र भगवानसँग पानीको माग गर्दै घर–घरमा पुगेर मानिसहरूमाथि पानीले नुहाई दिने, हिलो छ्यापिदिने परम्परागत छ ।

यो परम्परामा विभिन्न जोकर भेषमा महिलाहरू सहभागी हुने गर्दछन् । महिलाहरूले पानी पार्नका लागि धार्मिक गित गाउँदै घर–घरमा पुग्ने र गाउँ परिक्रमा गर्ने गर्दछन् । यसो गर्दा इन्द्र भगवान खुसी हुने र पानी पार्ने धार्मिक विश्वास रहेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।

पानी माग्दै हिड्नेहरूले सहयोग रकम लिने र उक्त रकमबाट मन्दिरहरूमा क्षमापूजा गर्ने प्रचलन छ । खडेरीका कारण धान उत्पादनमा कमि आउने भन्दै किसानहरु चिन्तित बनेका छन् । पानी नपरेपछि बढेको गर्मीले चहलपहल समेत घटेको छ । गर्मीले सबैभन्दा बढी दैनिक मजदुरी गरेर खाने मर्कामा परेका छन् ।