डियूटिमा नजाने डाक्टरलाई भरतपुर अस्पतालले गर्‍यो कारवाही

चितवन/डियूटिमा नजाने डा.ऋतुराज तिवारीलाई भरतपुर अस्पतालले कारवाही गरेको छ । अस्पताल विकास समितिको करार सेवामा रहनु भएका डा. तिवारीको करार भंग गरिएको हो । असार २६ गते विभिन्न संचार माध्याममा “२४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् भरतपुर अस्पतालका बिरामीले” शीर्षकमा समाचार प्रकाशित भएको थियो । डा. तिवारीले आफ्नो डियूटिको समयमा बिरामी परीक्षण गर्न नगएपछि भर्ना भएका बिरामीले २४ घण्टासम्म परीक्षण गर्न पाएका थिएनन् ।

उक्त समाचार प्रकाशित भएपछि अस्पतालले डा. तिवारीलाई तीन दिने स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएपछि आज उहाँको करार भंग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो । करार भंग भएसँगै डा. तिवारीको भरतपुर अस्पतालको जागिरबाट निस्काशित हुनु भएको छ । फिजिसियन डा. तिवारी विगत तीन वर्षदेखि भरतपुर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।