नेपाल आयल निगमको घाटा चुलियो, आपूर्ति नै बन्द हुन सक्ने चेतावनी

काठमाण्डौं/नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो ।

रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १० अर्ब पुगेको र आर्थिक वर्षको अन्तसम्ममा ५५ अर्ब रुपैयाँ पुग्ने जनाएको छ ।

यस्तो घाटा अब निगमले धान्न नसक्ने भन्दै निगमले अब तेलको आपूर्ति नै बन्द हुन सक्ने समेत चेतावनी दिएको छ ।