बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन/रासस/ बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

काठमाण्डौबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्‍याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक–पटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

घटनाको विषयमा जानकारी पाएपछि मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक अहिले पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।