प्रतिनिधि सभाको आजको बैठकबाट बजेट पारित गर्ने तयारी

काठमाडौं/प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।
गत असार १५ गते अर्थमन्त्री शर्माले १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । तर बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा मागेको छ ।

तर अर्थ मन्त्रालय र मन्त्री शर्माले उक्त आरोप तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् । मंगलबारको बैठकमा मन्त्री शर्माले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।

एमालेले उक्त घटनाबारे छानबिनका लागि संसदीय समिति नबन्दासम्म संसदको अवरोध कायमै रहने बताएको छ ।