भरतपुरमा दिगो फोहर व्यवस्थापन महानगरको पहिलो प्राथमिकताः रेनु दाहाल

चितवन/विश्व वातावरण दिवस–२०२२ को अवसरमा आज भरतपुर महानगरपालिकाले गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यीकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताइन् ।

‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प हो’ उनले भनिन् ,‘ पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’

अन्तर्राष्ट्रियस्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाइसकेको पनि प्रमुख दाहालले उल्लेख गरिन् । आगामी नगरसभामार्फत सरसफाइको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । महानगरपालिकालाई सौन्दर्यीकरण, हरियाली तथा सुन्दर र स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुसरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाइमा अघि बढ्ने बताए । फोहरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सके मात्रै मानव जीवन अगाडि बढ्न सक्ने भएकाले यसको महत्वलाई सबै जनाले बुझ्न आवश्यक रहेको उल्लेख गरे ।

वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका एक दर्जन बढी संघसंस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा निबन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरु गोडमेल, वृक्षरोपण तथा राप्ती तटीय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।
समापन समारोहमा भरतपुर महानगरपालिको सरसफाइ तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था, अभियन्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।