धादिङमा मेयरका उम्मेदवारमाथि हातपात

धादिङ/चुनावी आचारसंहिताविपरीत बुथभित्र प्रवेश गरेको भन्दै धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ ।
नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् ।

आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन ।

एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन् । ढुंगाना मतदान केन्द्रहरुको निरीक्षण भ्रमणका क्रममा नीलकण्ठ ५ स्थित पञ्चकन्या माविमा रहेको मतदान केन्द्रमा पुगेका थिए ।

यस विषयमा ढुंगानाले आचारसंहिता उलंघन नगरेको जिकिर गरे । आफू मतदान भित्र प्रवेश गर्न पाउने जिकिर गर्दै उनले प्रवेश गर्ने बित्तिकै आक्रमण गर्ने काम भएको बताए ।