जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन : मतदान सुरु

काठमाडौं/सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो निर्वाचन बिहान ७ बजेबाट सुरु भएको छ । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।

कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल सुरु भएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता बिहानबाटै लाइन लागेका छन ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।