लेक लागेर डोल्पामा एक म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

सुर्खेत/लेक लागेर उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर ज्यान गएको हो ।

ज्यान गुमाएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो ।