हिजो एमाले प्रवेश गरेका डल्लाकोटी आज फेरि माओवादीमै

धादिङ/हिजो नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) आज (मंगलबार) फेरि नेकपा (माओवादी केन्द्र)मा नै फर्किएका छन् ।
उनलाई सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका थिए । तर डल्लाकोटी एकाएक आज विज्ञप्ती जारी गर्दै आफू पुनः माओवादीमै फर्किएका बताएका छन् । हिजो एमाले प्रवेश गरेपछि डल्लाकोटीको देशभर चर्चा भएको थियो ।

उनले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् ।