रुसको तेलमाथि प्रतिबन्ध लागे विश्वमा के असर पर्छ ?

एजेन्सी/रुसको युक्रेनमाथिको हमलापछि पश्चिमा देशले अत्यन्त कडा प्रतिबन्ध लगाएका छन् । तर यसमा रुसको सबैभन्दा महत्वपूर्ण उद्योग ग्यास र तेल पूर्ण रुपमा समावेश छैन ।
युक्रेनमा हमलापछि रुसको अर्थव्यवस्था, बैंकिङ प्रणाली र उसको मुद्रामा व्यापक दबाव परेको छ ।
विश्लेषकका अनुमान अनुसार रुसको तेल निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनाले कच्चा तेलको मूल्य ३०० डलर प्रति व्यारेल पुग्न सक्छ । यसैगरी, रुसमाथि ग्यास, कोइला र तेलको निर्भरता कम गर्नका लागि युरोपले वैकल्पिक बाटो प्रयोग गर्ने कोसिस गरिरहेको छ ।
यद्यपि, युरोपेली संघमा आबद्ध भएका मुलुकहरु आफ्नो आवश्यकताको आधा ग्यास, कोइला र एक तिहाई तेल रुसबाट आयात गर्छ ।
रुसमाथिको निर्भरता कम गर्न युरोपेली संघका नेता आगामी बिहिबार र शुक्रबार बैठक बस्ने भएका छन् ।
युरोपेली संघका नेताले रुसको युक्रेनमाथिको हमलालाई सीधा रुपमा इंगित नगरिकन भनेका छन्, ‘युरोपेली इतिहासमा एउटा नयाँ इतिहास बन्ने समय आएको छ ।’
यस अनुसार सन २०३० सम्म विकास र लगानीको नयाँ मोडल विकसित गर्नुका साथै उर्जाको आपूर्ति र बाटोलाई विविधिकरण गर्ने विषयमा जोड दिइएको छ ।

रुसको धम्की
पश्चिमी देशको प्रतिबन्ध र चेतावनीका बावजुद रुसी तेलमाथि प्रतिबन्ध लगाएमा यसको मूल्य प्रति व्यारेल ३०० डलर सम्म पुग्न सक्ने रुसले जनाएको छ र जर्मनीका लागि मुख्य ग्यास पाइपलाईन पनि बन्द गर्न सकिने बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बनाउनका लागि अमेरिकाले आफू र उसका युरोपेली सहयोगी रुसबाट तेल आयात गर्नबाट प्रतिबन्ध लगाउनका लागि विमर्श गरिरहेका छन् । विश्वभरी तेलको मूल्य सन् २००८ पछिकै उच्च स्तरमा पुगिसकेको छ । सोमबार कच्चा तेलको मूल्य १३९ डलर प्रति व्यारेल पुगेको थियो ।
रुसका उप–प्रधानमन्त्री एलेक्जेन्डर नोभाकले रुसी तेल खरिद नगरेमा विश्वव्यापी बजारमा यसको विनाशकारी प्रभाव पर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग कुराकानी गरेर उनीहरुसँग प्रतिबन्धका लागि समर्थन मागेका थिए ।
यदि अमेरिकाले यो प्रस्तावप्रति समर्थन नपाएमा उनी एक्लै यो विषयमा अघि बढ्न सक्ने पनि बताइएको छ । तर युरोपमा धेरैजसो देश रुसी उर्जा स्रोतमा निर्भर हुँदै आएका छन् । यसका साथै, अमेरिकाले आफ्नो आवश्यकताको ३ प्रतिशत तेल रुसबाट निर्यात गर्छ । रुसबाट पाइपलाइनको माध्यमबाट जर्मनीमा ग्यास पुग्ने गरेको छ । गत महिना जर्मनीले दोस्रो ग्यास पाइपलाइन नर्ड स्ट्रिम–२ को प्रमाणीकरणमा रोक लगाएको थियो ।
रुसी नेता नोभाकले भने, ‘हामीसँग मिल्दो जुल्दो निर्णय लिने अधिकार छ । नर्ड स्ट्रिम–१ ग्यास पाइपलाइनबाट ग्यास रोक्न पनि सकिन्छ ।’

रुसबाट कति तेल र ग्यास बाहिरिन्छ ?
अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । विश्वको कुल तेल आपूर्तिको ८ देखि १० प्रतिशत रुसबाट आउने गर्छ ।
रुस प्रत्येक दिन ४० देखि ५० लाख ब्यारेल कच्चा तेल र ८५०० अर्ब घनफीट प्राकृतिक ग्यास वर्षेनी निर्यात गर्छ । यसको अधिकतम हिस्सा युरोपमा जान्छ । रुस युरोपेली संघमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । यदि आपूर्तिमा नियन्त्रण भए यसको विकल्प खोज्न सहज हुने छैन ।
विश्वव्यापी उर्जा बजारमा रुसको महत्वपूर्ण भूमिका भएकाले अमेरिका र युरोपेली संघ अझैपनि रुसको तेल र ग्यास उद्योगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन सकिरहेका छैनन् । यसैलाई मध्यनजर गर्दै सोमबार जर्मन चान्सलर ओलाफ सल्ट्जले रुसको तेल र ग्यासमा ठूलो रुपमा प्रतिबन्ध लगाउने विचार अस्वीकार गरेका थिए । युरोपले रुसी उर्जालाई प्रतिबन्धबाट जानीजानी छुट दिएको पनि उनले बताएका छन् । किनकी यो समय उर्जा आपूर्तिलाई कुनै अन्य तरिकाबाट बचाउन सकिन्नँ ।
युरोपेली देशमा तेलको तुलनामा ग्यासको आवश्यकता सर्वाधिक हुन्छ र युरोपेली संघ आफ्नो ग्यासको ६१ प्रतिशत आयात गर्छ र यसको ४० प्रतिशत रुसबाट आउँछ ।
यदि रुसले युरोपलाई ग्यास आपूर्ति रोक्यो भने युरोपका सामु ग्यास संकट पैदा हुन सक्छ । यस किसिमको अवस्थामा उसलाई ग्यास लिनका लागि दोस्रो उपाय खोज्नु पर्ने हुन्छ । ब्रोएगल थिंक ट्यांकको अनुमान अनुसार रुसले यदि युरोपको ग्यासको आपूर्ति बन्द ग¥यो भने युरोपेली संघका देशमा पहिले नै जम्मा गरिएको ग्यासमा निर्भर हुनुपर्छ । यो पहिले नै एक दशककै सबैभन्दा न्यून स्तरमा रहेको छ ।
अप्रिलमा तापमान बढेपछि युरोपेली देशको ग्यास भण्डारण सुरु गर्दै आएका छन् । किनकी यसो गर्नाले चिसोमा यसको प्रयोग गर्न सकिन्छ । यसको अर्थ उनीहरुले ग्यासको फरक स्रोत खोज्नुपर्छ । यो अवस्थामा उनीहरु उत्तरी अफ्रिका र अजरबैजान जस्ता देशबाट तरल प्राकृतिक ग्यास आयात गर्न सक्छन् ।
यस किसिमबाट अतिरिक्त ग्यासको ठूलो मात्राबाट युरोपेली ग्यास क्षेत्रमा दबाब पर्नेछ र पहिले नै बढ्न थालेको ग्यासको मूल्यमा थप वृद्धि हुने छ ।

रुसी तेलको के विकल्प हुन सक्छ ?
युरोपले तुरुन्त तेल र ग्यास लिन बन्द गर्ने छैन । तर युरोपेली देश रुसको तेल र ग्यासको आपूर्तिका लागि फरक विकल्पको खोजी गर्न सक्ने छन् ।
ठूलो तेल कम्पनी शेलले रुसबाट कच्चा तेल किन्ने आफ्नो फैसलाको बचाउ गरेको थियो ।
कम्पनीका अनुसार युरोपमा तेलको आपूर्तिलाई कायम राख्नका लागि उसले रुसबाट बाध्यतावश तेल किन्नु परेको छ । बीबीसी