चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ/विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको हो।
महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र फेरि मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ । सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति पुगेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।