कोरोना संक्रमण बढ्दै गएपछि चितवन एमालेको अधिवेशन स्थगित

चितवन/कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएपछि नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जनाएका हुन् ।