चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै मेला–महोत्सव बन्द, करोडौँको नोक्सानी

चितवन/चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि महोत्सव रोकिँदा करोडौँको नोक्सानी हुने भएको छ ।
चितवन महोत्सव र रत्ननगर महोत्सव १० दिनसम्म सञ्चालन गर्ने गरी सबै तयारी गरिएको थियो । व्यवसायीहरुले उत्साहपूर्ण ढंगबाट मंसिरमा नै स्टल बुक गरेका थिए । एक्कासी कोरोना संक्रमितको संख्या बढेपछि महोत्सव आयोजकहरु चिन्तित बनेका छन् ।

चितवन महोत्सवमा सम्पूर्ण तयारी र प्रचार प्रचारका लागि मात्र डेढ करोड बढी खर्च भइसकेको व्यवसायीहरुले बताएका छन् । झण्डै ४५० स्टललाई व्यवसायीसँग प्रत्येकलाई १० दिनको सात हजारदेखि २५ हजारसम्म तोकिएको थियो ।

त्यसैगरी रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले रत्ननगर महोत्सवको तयारी धेरै खर्च भएको जानकारी दिए । उनले भने, ‘महोत्सव तयारीका ३५ वटा समितिहरुले खर्च गरेकोले अहिले एकिन भन्न सकिँदैन । उपाध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको सम्पूर्ण तयारी सकिएकोले आफूहरु धेरै घाटामा जाने बताए । यसअघि २०७६ मा पनि रत्ननगर महोत्सव वर्षाले पूरा समय सञ्चालन नभई स्थगित भएको थियो ।