विद्यालय बन्दबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

काठमाण्डौ/विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुनेछ ।

केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ ।