आजदेखि १३औं चितवन महोत्सव सुरु

चितवन/आज (आइतबार) देखि चितवन महोत्सव सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट हुने कार्यक्रम आयोजकले जनाएको छ ।
महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् ।
यसअघि २०७५ सालमा १२ औं संस्करणको महोत्सव भएको थियो । १३ औं संस्करणको महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको बताउनु भयो । उहाँका अनुसार महोत्सवमा ३५० वटा स्टल रहनेछन् । एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेड इन नेपालको छुट्टै स्थान छ । अटोको छुट्टै, कृषिको छुट्टै, इलेक्ट्रिकको छुट्टै र अन्य व्यावसायीहरुको छुट्टैछुट्टै स्थान तोकेर परिसर बनाएका छौं ।’

स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

यीलगायत महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जनजाती र भाषाभाषि सबैको सांस्कृतिक प्रदर्शन रहने उहाँले बताउनु भयो । २८ गतेदेखि २ गतेसम्म क्याम्पस चौरमा फुड फेस्टिबल पनि हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको विकासका लागि ४ दिनसम्म यससम्बन्धि विज्ञहरु बोलाएर महोत्सवमा गोष्ठी सेमिनार गरिने उहाँले बताउनु भयो ।

कोभिडको सुरक्षाका लागि टिकटसँगै मास्क वितरण तथा स्यानीटाइजर उपलब्ध गराउने बताउँदै उहाँले मास्क लगाएको नलगाएको अनुगमन पनि हुने बताउनु भयो ।

महोत्सव व्यवस्थापनका लागि ३० वटा विभिन्न समिति बनाएर काम गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ ।
उद्घाटन सत्रका बेला भने प्रवेश निःशुल्क रहेको र उद्घाटन सत्र सकिएपछि दिउँसोबाट टिकट लाग्नेछ ।
महोत्सवमा करिब ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा रहेको प्रवद्र्धन समितिका संयोजक सुमनकुमार श्रेष्ठले बताउनु भयो ।