प्रधानमन्त्री देउवा आइसोलेसनमा, आज कोरोना परीक्षण गरिँदै

काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेसनमा रहनुभएका प्रधानमन्त्री देउवाले आज कोरोना भए÷नभएको पुष्टि गर्नका लागि पिसिआर परीक्षण गर्न लाग्नुभएको हो ।
बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बस्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँ सरकारी निवासमै आइसोलेसनमा रहनुभएको र आज पिसिआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने पनि देउवाले बताउनुभयो ।
सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सङ्क्रमण देखिएपछि उहाँ पनि आइसोलेसनमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले हिजो बिहान बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।