नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने

काठमाण्डौं/नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने भएको छ । केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले पर्सि आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि प्रभावित हुने भएका कारण पदाधिकारी छनोट हुन समय लाग्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि भेटघाट कम गर्न पार्टीले अनुरोध गरेको नेता देव गुरुङ्ले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक जना केन्द्रीय सदस्य र ५ जना कार्यालयका कर्मचारीमा कोरोना देखिएको जानकारी दिनुभयो ।

आठौँ महाधिवेशनबाट अध्यक्ष तथा केन्द्रीय सदस्यहरूको टुङ्गो लागे पनि पदाधिकारीहरूको छनोट हुन सकेको छैन । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारी हुने व्यवस्था छ । पदाधिकारी सङ्ख्या र चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको छ ।