स्मार्ट लाइसेन्स छपाइ पुनः सुरु

काठमाण्डौ/सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु भएको छ । कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो ।

अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिनुभयो । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रहेको उहाँको भनाई छ । सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । कार्ड सप्लाईको ठेक्का फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा लिएको थियो ।

अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नयाँ आवेदन पनि खुला गरिरहेको छ ।