देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौं/हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मशाखाले देशभर चिसो बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।