आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाण्डौं/आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो ।
२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देश दिँदै अभियानको सफलताको कामना गर्नुभएको छ । राष्ट्रपतीले जारी गरेको शुभकामना सन्देशमा अझै पनि महिलाहरूले कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको उल्लेख गरीएको छ । सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।