टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः नेपालसँग कतार ११९ रनले पराजित

काठमाडौं/नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८–८ रन जोडिन । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् । कतारका पाँच खेलाडी सुन्य रनमा आउट भए ।

कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् । कविता कुँवर र सिता राना मगरले २–२ तथा करुणा भण्डारीले १ विकेट लिईन् । यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

महिला टोलीको यो टी–ट्वान्टीअन्तराष्ट्रियमा कीर्तिमानी योगफल हो । नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भईन् ।उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिईन् ।टी–ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।

त्यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन । कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट भईन । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् । कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।