अफगानिस्तानमा परिवारका अन्य सदस्यको भोक मेट्न छोरी बेचेको खुलासा !

एजेन्सी/तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा गम्भीर मानवीय संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संकट यतिसम्म चुलिएको छ कि परिवारका अन्य सदस्यको भोक मेटाउनका लागि एउटा परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । त्यहाँ एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउनका लागि भन्दै एक नवजात शिशु बिक्री गरेकी छिन् । उनले आफ्नी सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् । सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामीले यो छोरीलाई बेच्न बाध्य भयौं । म किन दुःखी नहुनु र ? उ मेरै छोरी हो ।’

उनका श्रीमान् कबाडी संकलनको काम गर्छन । तर त्यो कामबाट गुजारा चलाउन सक्नेगरी आम्दानी हुँदैन । उनी भन्छिन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ, न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छिन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’

अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन् । उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको बिबिसीले जनाएको छ ।